चुनावपछि ब्याजदर घटाउने गृहकार्य
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा कर्जाको ब्याजदर वृद्धि गरेको र नियामक निकाय नेपाल राष्ट्र बैंक मुकदर्शक भएको भन्दै उद्योगी व्यवसायीहरू देशव्यापी सडक आन्दोलनमा उत्रिएपछि केन्द्रीय बैंकले ब्याजदरका सन्दर्भमा पुनर्बिचार गर्ने गृहकार्य थालेको छ ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार मंसिर ४ गतेको निर्वाचनपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत ब्याजदरका विषय सम्बोधन गर्न गृहकार्य भइरहेको छ ।
निर्वाचन आचारसंहिताका कारण तत्काल यस विषयमा निर्णय गर्न नसकिने भएकाले केही समय धैर्य गर्न केन्द्रीय बैंकले विभिन्न सुत्रमार्फत उद्योगी व्यवसायीलाई आन्दोलन रोक्न पहल गरिरहेको स्रोतको भनाइ छ ।
उद्योग व्यवसाय चल्न सक्ने स्थिति आएन भने वित्तीय क्षेत्र पनि चल्न सक्दैन । तसर्थ, ब्याजदरको विषयमा केन्द्रीय बैंक गम्भीर भई उद्योगी व्यवसायीका मागलाई सुन्ने काम भइरहेको छ ।
मौद्रिक नीतिको समीक्षाका क्रममा त्यो विषय सम्बोधन हुने स्रोतले बतायो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
वि.सं.२०७९ कात्तिक २७ ०७:४०




















