आयोडिन मन्थ अभियान सुरू
काठमाडौं । नेपाल सरकार र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आयोडिनयुक्त नूनको प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने शारीरिक, मानसिक रोग र विकृति निवारण सम्बन्धी जनचेतना जगाउने उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन गरेको छ ।
सन् २०२३ फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने शारीरिक तथा मानसिक रोग र विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा’थोरै खाऔं, सही मात्रामा खाऔं, दुई वालवालिकाको चिन्ह अंकित आयोडिनयुक्त नून नै खाऔ’ भन्ने नारालाई साकार तुल्याउन २०७१ माघ १८ गते अर्थात १ फेब्रुवरी २०२३ देखि एक महिनाभरी सरकारले ‘आयोडिन मन्थ’ का रुपमा मनाउन सुरू गरेको छ ।
युनिभर्सल साल्ट ‘आयोडाइजेशन (USI) को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थू घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आएको छ ।
आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये Visible Goiter सन १९८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन । नेपाल सरकारले दिएको निर्देशन अनुसार, साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आयोडिनयुक्त नूनको आपूर्ति गर्दै आएको छ।
नेपाल सरकारले लिएको सहशताब्दी विकास लक्ष अनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या शत प्रतिशतमा पुर्याउने लक्ष्य लिएको जानकारी दिएको छ ।
सन् २०१६ को नेपाल सरकारले गरेको NNMS सर्भे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको थियो भने सन २०१६ मा नेपाल सरकारले गरेको NDHS सर्भे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको थियो ।
अतः यस उपलब्धिलाई जोगाई राख्न सम्बन्धित सबै निकायहरुले ध्यान दिनु जरुरी देखिएको बताइएको छ ।
आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकीहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्षास्टल राख्ने, जस्ता गतिविधि फेब्रुअरी महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशनले जनाएको छ ।
नेपाल सरकारले विगत ५९ वर्ष देखि साल्ट ट्रेडिङ कर्पोरेशनलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.ले ग्रामीणस्तरसम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुईवालवालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
२०७९ माघ १८ गतेदेखि शुरु भएको आयोडिन महिनामा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागेको साल्ट ट्रेडिङ कर्पोरेशनले जानकारी दिएको छ।
वि.सं.२०७९ माघ १९ ०८:४०




















