‘निफ’को जुरीमा नेपालबाट अभिनेत्री प्रियंका कार्की र माया एकेडेमीका इन्द्र लाल बलामी मनोनित
काठमाडौं । आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को दुई जुरी कमिटीमा दुईजना नेपाली कलाकर्मी मनोनित हुनु भएको जानकारी गराएको छ ।
‘निफ’को जुरीमा चर्चित अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्र लाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएको पनि जानकारी गराएको छ ।
कार्की यस्ती अभिनेत्री हुन् जसले दर्जनौं चलचित्रमा अभिनय गरेर लोकप्रियताको शिखर चुम्न सफल छिन् । त्यसैगरी माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्र लाल बलामी चलचित्रको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन्।
यस बर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने निफ जनाएको छ ।

वि.सं.२०७९ माघ १९ ११:१०




















