back
stc
prabhu insurance

चालू आर्थिक वर्षको माघसम्म २३ अर्ब रकमान्तर

काठमाडौँ । चालू आर्थिक वर्षको माघसम्म अर्थ मन्त्रालयले करिब २३ अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पुँजीगत तर्फ एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा माघसम्म २२ अर्ब ७४ करोड रुपियाँ रकमान्तर भएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पुसमा मात्रै २२ अर्ब दुई करोड रुपियाँ रकमान्तर भएको छ ।

बजेट उपशीर्षक अन्तर्गत सबैभन्दा धेरै ट्रेजरी बिलको सावाँ भुक्तानी गर्न अपुग रकम व्यवस्थापन गर्न १२ अर्ब रुपियाँ रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसपछि विकास ऋणको सावाँ भुक्तानतर्फबाट ट्रेजरी बिलको सावाँ भुक्तानीका लागि दस अर्ब रुपियाँ रकमान्तर गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मन्त्रालयले माघसम्म पाँच करोड रुपियाँभन्दा बढी आर्थिक सहायता उपलब्ध गराएको पनि जनाएको छ ।

विभिन्न व्यक्ति तथा संस्थाको नाममा पाँच करोड २१ लख रुपियाँ बराबर आर्थिक सहायता उपलब्ध गराएको तथ्याङ्क छ । यस बाहेक मन्त्रालयले अर्थ विविधि शीर्षक अन्तर्गत २१ अर्ब २० करोड रुपियाँ निकासा दिएको जनाएको छ ।