back
prabhu insurance
himalayanlife

सुधारिएको लैङ्गिक विकास सूचकांक एमाले सरकारका कामको उपलब्धि: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागितामा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरूको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहेको बताएका छन् ।

‘ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको नतिजास्वरूप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको उनले उल्लेख गरेका छन् ।

राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको भन्दै ओलीले संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको बताएका छन् ।

समाजमा महिला हिंसा र उत्पीडनका अवशेष कायमै रहेको भन्दै विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरुलाई जरैदेखि निर्मूल गर्न अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको लागि ओलीले ध्यानाकर्षण गराएका छन् ।

‘राजनीतिक अस्थिरता मार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि नेकपा (एमाले) ले अघि बढाएको अभियान कमजोर बनाउने दुश्प्रयास अहिले पनि जारी छ ।

अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामर्थ्यलाई कमजोर बनाउने, अर्थतन्त्रलाई धरासायी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरु बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ’, ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।