सवारी सेवा नेपाललाई राइड सेयरिङको पहिलो अनुमति, पोखराबाट सेवा सुरु गर्दै
पोखरा । गण्डकी प्रदेशमै पहिलो पटक राइड सेवा सञ्चालनका लागि सवारी सेवा नेपाल प्रा.लिले अनुमति पाएको छ । देशमै पहिलो पटक राइड सेयरिङलाई अनुमति दिने कानुन बनाएको गण्डकी प्रदेशले यसका लागि सवारी सेवा नेपाललाई यस प्रकारको अनुमति दिएको हो ।
सवारी सेवा नेपालका अध्यक्ष राजनकुमार श्रेष्ठले यसका लागि आवश्यक तयारी भइरहेको र पहिलो चरणमा २० वटा सवारी साधनमार्फत सेवा सञ्चालन गरिने बताए ।
कम्पनी दर्ता गर्दा २० वटा सवारी साधन अनिवार्य हुनुपर्ने व्यवस्था बमोजिम त्यही अनुसारका सवारी साधनको व्यवस्था गरेको र हाल सम्म करिव २०० राइडरहरु यसमा आवद्ध भइसकेको श्रेष्ठले बताए ।
आगामी ३ वर्ष भित्रमा दुईपांग्रे ५० हजार र चारपांग्रे ५ हजार सवारी साधन पु-याएर ३ वर्ष भित्रमा कम्पनीले लगानी गरेर आफ्नै प्लेटफर्ममा वितरण गर्ने लक्ष्य रहेको उनले बताए ।
यसरी सबै ईभी सवारीमार्फत युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य रहेको समेत श्रेष्ठले बताए । यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले अनुमति दिएपछि यही साताभित्रै सवारी सेवाले राइड सेयरिङ सेवा थाल्ने तयारी गरेको छ ।
तीन वर्षको प्रयास पश्चात नेपालमै पहिलो पटक राइड सेयरिङ चलाउने अनुमति पाएको र पोखराबाट सेवा सुरु गर्ने श्रेष्ठले बताए । यो कम्पनीले राइडर र सेवाग्राही दुवैका लागि छुट्टाछुट्टै एप बनाइसकेको छ । आगामी दिनमा काठमाडौंमा समेत सेवा सुरु गर्ने योजना रहेको उनले बताए ।
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, गण्डकी प्रदेश राइड सेयरिङ नियमावली २०८२ र गण्डकी प्रदेश आर्थिक ऐन, २०८३ बमोजिम राइड सेयरिङ सेवाको अनुमति र नियमन गर्न लागिएको हो ।
अनुमतिका लागि दुईपांग्रेको २५ हजार र चारपांग्रेको ५० हजार र दुवै सेवाका लागि ७० हजार रुपैयाँ शुल्क बुझाउनु पर्छ । प्रतिसवारी साधन दर्ता शुल्क दुईपांग्रेको हकमा दुई हजार पाँच सय र चारपांग्रेको हकमा १० हजार तोकिएको छ ।
कास्कीमा हालसम्म पाँच वटा कम्पनीले दर्ताका लागि निवेदन दिएका थिए । सजिलो नेपाल प्रा.लि, सवारी सेवा नेपाल लिमिटेड, इकोमो नेपाल प्रा.लि, जेम्स ग्रिन इलेक्ट्रो मोबिलिटी सर्भिस प्रा.लि र मुभ इन नेपाल प्रा.लि सेवा सञ्चालनका लागि सूचीकृत भएका छन् ।
भाडामा गाडी लिएर आफैँ चलाउने सेवा (सेल्फ ड्राइभ) सेवा सञ्चालनका लागि भने कुनै कम्पनीले पनि आवेदन गरेका छैनन् ।
वि.सं.२०८३ साउन १० १३:०१




















