मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् ।
अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० पर्यटकले भ्रमण गरेका हुन् ।
आयोजनाका अनुसार, भारतीय पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ पर्यटकले मनाङको भ्रमण गरेका छन् । “अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन्,” प्रमुख भुजेलले भन्नुभयो, “सार्क राष्ट्रका पाँच हजार ९० र अन्य देशका २५ हजार ५७२ पर्यटकले यहाँको सुन्दरताको अवलोकन तथा भ्रमणमा आएका छन् ।”
अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको अवस्थामा पनि उल्लेख्य पर्यटक आएको उहाँले बताउनुभयो । “जोखिमकै अवस्थामा पनि मनाङको सौन्दर्यता तथा प्राकृतिक, सांस्कृतिक क्षेत्रको भ्रमणमा आएका हुन् । जोखिम कम भएपछि अहिले पर्यटक गन्तव्यतर्फ पुगिसकेका छन्,” उहाँले भन्नुभयो ।
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल र मनास्लु हिमाल अरोहण गर्न पर्यटक आउने गरेका छन् ।
हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।
पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्छन् । पछिल्लो समय सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै पदयात्रा सुरु हुन्छ ।
वि.सं.२०८३ कात्तिक १८ ०४:२९




















