back
stc
prabhu insurance

आज भाद्र शुक्ल कागेअष्टमी

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागेअष्टमी पर्व आज कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं–१ को कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ ।

यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने जनविश्वास रहि आएको छ । गोसाइकुण्ड दर्शन गर्नेहरूले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता रहि आएको छ ।

कागेश्वरी मन्दिरमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक जनविश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनु पर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल चढाएर धार्मिक यात्रा पूरा हुने जनधारणा रहेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट हजारौं भक्तजनको भीड लाग्छ ।

No description available.
हरेक बर्ष भाद्र शुक्ल अष्टमी अर्थात आजकै दिन काठमाडौं जिल्लाको उत्तरपूर्वी कुनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल कागेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ ।

धार्मिक कथन अनुसार वनविहार गर्न निस्कनु भएका भगवान महादेव धेरै दिनसम्म कैलाश फर्कनु भएन । खोज्न निस्कनु भएकी माता पार्वतीले धेरै तिर भौतारिदा पनि महादेवलाई नभेटेपछि फर्कनै लाग्नु भयो । त्यति नै बेला १ चिसो काग अहिले कागेश्वरी महादेव रहेको स्थानमा ध्यानमग्न महादेवलाई आफ्नो चुच्चोमा च्यापेको जल चढाउन का…का… गरेर करायो  त्यसपछि माता पार्वतीले उक्त स्थानमा के रहेछ रु भनि हेर्दा भगवान महादेवलाई भेट्टाउनु भएको थियो । अतस् उक्त कागले आजकै दिनमा काकगंगेश्वर घाटमा स्नान गरि ध्यान गरिरहनु भएका महादेवलाई जल अर्पण पश्चात् भगवानको दर्शन गरेको हो, भन्ने पौराणिक कथन छ ।

स्कन्द पुराणको हिमवतखण्ड महापुराण अन्तर्गत नेपाल महात्म्यमा महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा उल्लेखित कागेश्वरी धाम र सुन्दरीजल स्थित काकगंगेश्वर घाट बीच अन्योन्याश्रित धार्मिक सम्बन्ध छ । तसर्थ उक्त सम्बन्धलाई सम्बोधन गर्ने गरि पहिला काकगंगेश्वर घाटामा स्नान गरौं । अनि काकगंगेश्वर घाटाको पवित्र जल सहित कागेश्वरी धामको यात्रामा निस्कौ ।

मन्दिर जान यातायात सहज बनाउने व्यवस्था गरिएको छ। कागेश्वरी मनोहरा र सुन्दरीजलतिरबाट सडक बनेको छ। कोरोनाअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले गत वर्ष र यो वर्ष पनि मेला नगरी पूजा आराधना गर्ने व्यवस्था मिलाएको छ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति स्थापना गरेको छ। यो नेपालकै ठूलो कागको मूर्ति हो । यहाँ लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान सहयोग गरेका छन् ।

यसै मन्दिर समेतको नाम जोडेर कागेश्वरी र मनोहरा खोलाको नामबाट कागेश्वरी मनोहरा नगरपालिकाको नामाकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

नामकारण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ र नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिन्छ साथै स्थानीय उत्पादनसमेतको बिक्री वितरण गरिन्छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली लगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ ।

देशका विभिन्न जिल्लाबाट आई काठमाडौं उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।
कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् ।