शेयर बजार निरन्तर ओरालो लाग्यो लगानीकर्ताको सम्पत्तिको मूल्य ३ खर्ब २४ अर्ब रुपैयाँ

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ। लगानीकर्ताहरूले घाटा खाइरहेका छन। चालु आर्थिक वर्षको साँढे २ महिनामा सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य ३ खर्ब २४ अर्ब रुपैयाँले घटेको छ ।
उक्त अवधिमा अधिकांश दिन सेयर बजार घटेको देखिन्छ । यहीकारण सेयर बजारको आकार (कुल बजार पुँजीकरण) खुम्चिएपछि लगानीकर्ताको सम्पत्ति पनि घटेको हो ।
सेयर बजारमा सूचीकृत कुल सेयर संख्यालाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । कम्पनीहरूको सेयर मूल्य धेरै हुँदा बजार पुँजीकरण पनि धेरै हुन्छ भने कम हुँदा पुँजीकरण पनि कम हुन्छ ।
बजार पुँजीकरण धेरै हुँदा लगानीकर्ताको सम्पत्तिको मूल्य बढ्छ भने पुँजीकरण कम हुँदा घट्ने गर्दछ। चालु आर्थिक वर्षको सुरुवाती साँढे २ महिना अर्थात असोज १५ गतेसम्म बजार पुँजीकरण घटेकाले अहिले लगानीकर्ताको सम्पत्तिको मूल्य पनि घटेको हो ।
बजार पुँजीकरण विस्तार हुँदा लगानीकर्ताको आम्दानी बढेको रुपमा विश्लेषण गर्न मिल्दैन । किनकि सेयर मूल्य बढे पनि त्यो बिक्री गरेर रकम प्राप्त नगर्दासम्म लगानीकतालार्ई आम्दानी नहुने भएकाले यसलाई सम्पत्तिको मूल्य मात्र बढेको रूपमा विश्लेषण गरिन्छ ।
नेप्सेका अनुसार गत असोज १४ गते बिहीबारसम्म ३६ खर्ब ८६ अर्ब ३३ करोड रुपैयाँ कुल बजार पुँजीकरण कायम भएको छ । गत असारको तुलनामा बिहीबारसम्मको बजार पुँजीकरण ३ खर्ब २४ अर्ब रुपैयाँले कम हो ।
गत असार मसान्तमा यस्तो पुँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड रुपैयाँ थियो । भदौ साता पहिलो साता कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब पुगिसकेको थियो । यो हालसम्मकै उच्च हो । यही उच्च तहसँग तुलना गर्दा गत बिहीबारसम्म लगानीकर्ताको सम्पत्तिको मूल्य करिब ८ खर्बभन्दा धेरैले घटी सकेको छ ।
यस्तै गत आर्थिक वर्षको अन्त्यको तुलनामा गत सातासम्म नेप्से परिसूचक करिब २ सय ५० अंकले घटीसकेको छ । गत असारमा नेप्से २ हजार ८ सय ८३.४१ बिन्दुमा थियो । गत सातासम्म आइपुग्दा यो घटेर २ हजार ६ सय ३३.४२ बिन्दुमा ओर्लेको छ । यसैगरी, गत आर्थिक वर्षदेखि नै सेयर बजारमा लगानीकर्ताको संख्या पनि तीव्र गतिमा थपिएको छ ।
२०७७ असारमा दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २ लाख ४५ हजार ४ सय ७४ थियो । गत सातासम्म दोस्रो बजारमा कुल लगानीकर्ताको संख्या १० लाख ४६ हजार पुगेको छ ।
यसरी एकै वर्षमा लगानीकर्ताको संख्या ३ सय प्रतिशत अर्थात करिब थप ८ लाखले वृद्धि भएको छ । गएको एक वर्षमा बजारमा थपिएकामध्ये सबैजसोले अनलाइन सेयर कारोबारका लागि ‘लगइन र युजरनेम’ लिएको देखिन्छ । २०७७ असारमा यस्तो संख्या ३५ हजार १ सय १९ मात्र थियो ।
पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीका अनुसार गत असारसम्म ४४ लाख ७६ हजार डिम्याट अर्थात सेयर अभौतिकीकरण खाता खुलेका छन् । २०७७ असारमा डिम्याट खाताको संख्या १७ लाख २३ हजार ९ सय थियो ।
यस्तै २०७८ साउनमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २ सय २० पुगेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ४४ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् । चालु आर्थिक वर्षको पहिलो महिनामा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.२ प्रतिशत छ ।
त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ३.९ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत तथा अन्य उपसमूहको ७.८ प्रतिशत रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
वि.सं.२०७८ असोज १७ १३:४९