आज सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं । सेयर बजार आज कार्तिक १७ गते बुधबार पनि सामान्य रूपले बढेको छ। आज बजार ५.२२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८४८.८४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले ओरालो लागेर ५३०.८९ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।
पुँजीबजार विश्लेषकहरूले पछिल्लो समय बजारमा सबै कुरा सकारात्मक नै रहेको बताउँदै आएका छन्। आज कारोबार र इन्डेक्स दुवै बढ्नुले पनि लगानीकर्ताको सेन्टिमेन्ट परिवर्तन भएको जस्तो देखिन्छ।
बजारमा तरलता धेरै अभाव भएको होइन। मौद्रिक नीतिको त्रैमासिक समीक्षामा राष्ट्र बैंक पुँजीबजारसँग सम्बन्धित नीतिमा केही न केही परिमार्जन गर्ने सम्भावना रहेको छ। सीडी रेसियो सहज बनाउन सक्छ। यसो भएमा तिहारपछि बजारले यसअघिको अलटाइम हाई ब्रेक गर्न सक्ने अनुमान गरिएको छ।
सेयर धितो कर्जामा ४–१४ क्याप धेरै ठूलो इस्यू हैन। धितोपत्र बोर्डको अध्यक्ष र नेप्सेको सीईओ नियुक्त भएमा बजारमा थप सकारात्मक वातावरण बन्नेछ।
आज राम्रै कारोबार भएकोले बजार सकारात्मक नै रहेको मान्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा तरलतामा केही दबाब परेको देखिन्छ। राष्ट्र बैंकले पुँजीबजारसँग सम्बन्धित नीतिहरुमा केही न केही परिमार्जन गर्ने सम्भावना रहेकाले तरलता सहज हुन सक्छ।
सीडी रेसियोलाई परिमार्जन गरी ९५ प्रतिशत पुर्याएमा र तिहारपछि विकास खर्च बढ्ने भएकोले तरलता सहज हुने देखिन्छ। यदि सबैतिर महौल बन्दै गएमा तिहारपछि बजार सकारात्मक नै हुने विश्लेषकहरू बताउछन।
आज नेप्से उपसमूहमा रहेका १३ वटा उपसमुहमध्ये ८ वटा उपसमुहमा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। आज जलविद्युत समूह सर्वाधिक ०.७२ प्रतिशतले माथि चढेको छ। बैंकिङ समूह ०.४१ प्रतिशतले बढेको आज विकास बैंक समूहमा ०.१३ प्रतिशत, वित्त समूहमा ०.३९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३५ प्रतिशत, अन्य समूहमा ०.१५ प्रतिशत, लघुवित्त समूहमा ०.३२ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३१ प्रतिशतको बढेको छ।
यसैगरि होटेल तथा पर्यटन समूह सर्वाधिक १.८३ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.८६ प्रतिशतले घटेको छ। आज व्यापार समूहमा ०.८३ प्रतिशत, जीवन बीमा समूहमा ०.३१ प्रतिशत र लगानी समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ।
आज धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँमा खरिदबिक्री भएका छन्।
नबिल बैंक एक्लैको १ अर्ब १७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज अपी पावरको २८ करोड ९१ लाख रुपैयाँ, अरुण काबेली पावरको २१ करोड ७९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ६३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ४७ लाख रुपैयाँ, युनाइटेड इदी हाइड्रोपावरको १३ करोड ९८ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको १३ करोड ५० लाख रुपैयाँ, ज्योति विकास बैंकको १३ करोड २१ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको जनाइएको छ।
आज कुन कम्पनीले कमाए र कुन कम्पनीले गुमाए ?
आज तीन कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा आईसीएफसी फाइनान्स र साहस ऊर्जाको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीले वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ ।
यसैगरि छ्याङ्दी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन। यो कम्पनीको सेयरमुल्य ६ प्रतिशतको हाराहारीमा घटेको छ। अब सेयर बजार तिहारपछि कात्तिक २२ गते सोमबार मात्र खुल्ने भएको छ।
वि.सं.२०७८ कात्तिक १७ १७:१८




















