एटलान्टामाथि म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ ।गएराति भएको खेलमा युनाइटेडले एटलान्टालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा नै २–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा पुनरागमन जित निकाल्यो ।
युनाइटेडलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो, मार्कस रासफर्ड र ह्यारी मगाएर समान एक(एक गोल गरे । एटलान्टाको लागि मारियो पासलीच र मेरिह डेमिराले गोल गरे ।
खेलको १५ औं मिनेटमा नै मारियो पासलीच गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । उनले डेविड जापाकोस्टाको पासमा गोल गरेको थिए । २९ औं मिनेटमा मेरिह डेमिरालले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे ।
युनाइटेडको लागि ५३ औं मिनेटमा मार्कस रासफर्डले गोल गरे । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए । ७५ औं मिनेटमा ब्रुनोकै पासमा ह्यारी मगाएरले बराबरी गोल फर्काए ।
८१ औं मिनेटमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसक्दा युनाइटेडले महत्त्वपूर्ण जित दर्ता गर्यो ।
यो जितसँगै समूहको अंक तालिकामा युनाइटेड शीर्षस्थानमा उक्लिएको छ । टोलीको ३ खेलमा ६ अंक छ । एटलान्टा र भिल्लारियलको ४–४ अंक छ
वि.सं.२०७८ कात्तिक ४ ०७:५५