१२ वटा पर्यटन संघ–संस्थाद्वारा आन्दोलनको चेतावनी
काठमाडौं । पर्यटन व्यवसायीका विभिन्न १२ वटा संस्थाका प्रतिनिधिले सरकारलाई पर्यटक आगमनमा सहजीकरण गर्न माग गरेका छन् ।
नेपाल एशोसिएसन ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा) मा बसेको पर्यटन क्षेत्रका विभिन्न १२ वटा व्यवसायिक संस्थाहरूको बिहीबारको बैंठकले पर्यटक आगमन सहजीकरण गर्न सरकारसँग विभिन्न पाँच बुँदे माग पेश गर्ने निर्णय गरेको छ ।
पर्यटनका विभिन्न संघ संस्थाले राखेको माग तत्कालै पूरा नभएर व्यवासायीले आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् ।
पर्यटन व्यवसायीहरूले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउनुपर्ने माग गरेका छन् ।
यसका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने र नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसा समेत तुरुन्तै लागू गर्नुपर्ने उल्लेख गरेका छन् ।
व्यवसायीहरूले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत कोभिड–१९ को परिस्थिति अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
व्यवासायीले सरकारले पर्यटन व्यवसायीहरूका मागहरु तत्काल सम्बोधन नगरे पत्रकार सम्मेलन गर्ने र अर्को हप्ताबाट कडा रूपमा सडक आन्दोलनमा जानेसम्मको निर्णय गरेका छन् ।
पर्यटन क्षेत्र लगायत अन्य क्षेत्रहरूको माग सम्बोधनका लागि व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र नेपाल उद्योग परिसंघ (सीएनआई) सँग सहकार्य गरेर अगाडि बढ्ने पनि निर्णय गरेका छन् ।
अन्तर्राष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेड जोन’मा राखिएको हुँदा सो रेड जोन हटाउनका लागि नेपाल सरकारका नेपालमा पर्यटनकर्मीहरुलाई पूर्ण रूपमा कोभिडविरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाध रुपमा आउन आउन दिनुपर्ने व्यवसायीको माग छ ।
नेपाल आएका पर्यटकलाई क्वारेन्टाइन राख्ने व्यवस्था हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरेमात्र ट्राभल एडभाइजरी रेड जोनबाट सुरक्षित जोनका रूपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सो को अविलम्ब व्यवस्था गर्नुपर्ने माग पनि व्यवसायीको छ ।
पर्यटन सम्बद्ध व्यवसायीक संस्थाहरू नाट्टा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएम), होटल संघ नेपाल (हान), राफिटङ एजेन्सिज एसोसिएस अफ नेपाल (नारा), सोसाइटी अफ टुर एण्ड ट्राभल एजेन्ट्स नेपाल (सोट्टो), नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)सहितका व्यवसायिक संस्थाका १४ प्रतिनिधिकरूले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७८ भदौ ३१ १७:५५




















