दशैंमा घुम्न सकिने गन्तव्य स्थानहरू
काठमाडौं । देशभर हिन्दु धर्मावलम्बीको महान चाड वडादशैं छाइसकेको छ। १५ दिनसम्म मनाइने बडादशैंको अवसरमा परिवारसँग भेटघाटका साथै विभिन्न नयाँ ठाउँहरूमा घुम्ने चलन बढन थालेको छ।
गत साल कोरोना महामारीले गर्दा अधिकांश नेपालीहरूले घरभित्रै बसेर दशैं मनाउनु परयो। तर, यसपालि भने कोरोनाको कहर कम भएको छ। साथै अधिकांश चलायमान नागरिकले खोप लगाएकाले चाडबाडको अवसरमा नयाँ ठाउँमा घुम्नेको संख्या पनि बढ्न सक्ने देखिन्छ।
पर्यटकीय दृष्टिकोणले नेपालको ७७ जिल्लामा नै घुम्ने स्थानहरू प्रसस्त छन्। तर, दशैंका साथै तिहारको अवसरमा नागरिकले टाढाका ठाउँ केही थप दिनका लागि घुम्न रुचाउने गरेका छन्। यस लेखमा पर्यटकीय दृष्टिकोणले नेपालमा घुम्न सकिने ठाउँहरु समेटिएका छन्।
काठमाडौं
काठमाण्डौं पर्यटकीय दृष्टिकोणले विश्वकै उत्कृष्ट सहरमा पर्दछ। जातीयका साथै धार्मिक विविधता भएको राजधानी काठमाण्डौं दशैंतिहारमा घुम्नका लागि उत्कृष्ट ठाउँमा पर्दछ। काठमाण्डौंमा घुम्नका लागि पाटन, भक्तपुर, पशुपति, बसन्तपुर, स्वयम्भु,बौद्व लगायत अन्य थुप्रै ठाउँहरू रहेका छन्।
पोखरा
गण्डकी प्रदेशमा स्थित पोखरा विश्वको पर्यटकीय गन्तव्यको सूचीमा पनि पर्दछ। पोखरामा हरेक वर्ष नेपालका साथै विश्वको अन्य मुलुकबाट लाखौंको संख्यामा पर्यटकहरू घुम्न आउने गरेका छन्। चाडपर्वमा होटेलहरु खाली नहुने भएकाले घुम्न जाँदा अग्रिम बुकिङ गरेर जाँदा घुम्न सहज हुन्छ। पोखरामा घुम्नका लागि फेवाताल, बेगनास ताल, डेभिड फल, महेन्द्र गुफा लगायत अन्य थुप्रै ठाउँहरू रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज
बागमती प्रदेशको चितवन जिल्लामा रहेको चितवन राष्ट्रिय निकुञ्ज नेपालको विश्व सम्पदा सूचीमा सूचीकृत छ। हरेक वर्ष देशका साथै विदेशबाट लाखौंको संख्यामा यस ठाउँमा पर्यटक घुम्न आउने गरेका छन्। एकसिंगे गैंडा, रोयल बेंगल टाइगर, हात्तीलगायत अन्य थुप्रै जंगली जनावरको बासस्थान रहेको यस निकुञ्जमा दशैंको बेलामा जंगल सफारीका लागि उपयुक्त हुन्छ।
लुम्बिनी
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा हरेक वर्ष चीन, जापान, थाइल्यान्डलगायत अन्य थुप्रै देशबाट पर्यटक आउने गरेका छन्। प्रदेश नम्बर ५ मा रहेको लुम्बिनी आन्तरिक पर्यटकका लागि पनि घुम्नका लागि उत्कृष्ट ठाउँमा पर्छ। लुम्बिनीमा घुम्नका लागि अशोका स्तम्भ, मायादेवी मन्दिर, बोधि वृक्ष, शान्ति स्तूपलगायत अन्य थुप्रै ठाउँ छन्।
बन्दीपुर
तनहुँ जिल्लामा रहेको बन्दीपुर नेवारी सम्पदा र संस्कृतिले भरिपूर्ण छ। दशैंको उपलक्ष्यमा घुम्ने पर्यटकले विभिन्न हिमालको दृश्यहरुमा रमाउन सक्ने छन्। होटेलका साथै होम स्टेले भरिपूर्ण बन्दीपुरमा नेवारी खाना साथै संस्कृति बारे सजिलै बुझ्न सकिन्छ। यस ठाउँमा हरेक वर्ष विश्वका विभिन्न कुनाबाट पर्यटक आउने गरेका छन्।
वि.सं.२०७८ असोज २६ १५:०९




















