थप १ सय ७५ हिमालको व्यवस्थापनको जिम्मा दिन पर्वतारोहण संघको माग
काठमाडौं । नेपाल पर्वतारोहण संघले थप १ सय ७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकारसँग माग गरेको छ ।
संघका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेस गर्नुभएको छ ।
संघले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ ।
सङ्घले २०७५ सालदेखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट सङ्कलित दस्तुरमध्ये ४५ प्रतिशत सङ्घ र ५५ प्रतिशत सरकारले बाँडफाँट गर्दै आएका छन् ।
यी हिमाल पुनः पाँच वर्षको नवीकरण गर्न सङ्घले प्रधानमन्त्रीसमक्ष माग गरेको छ । संघले आरोहीको कल्याणमा खर्च गर्ने गरी कोष खडा गरिदिन सरकारसँग आग्रह गरेको छ ।
वि.सं.२०७९ असार १४ ०८:०५




















