back
stc
prabhu insurance
nabil

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थाले

काठमाडौँ । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्।

वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ।

सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकामा सन् २०२१ को सोही समयमा पाँच हजार ९१७ जना विदेशी नेपाल भित्रिएका थिए।

सन् २०१९ को अगस्टको तुलनामा यो वर्षको अगस्टमा पर्यटक आगमनमा ५६ प्रतिशत सुधार भएको छ।

सन् २०१९ को अगस्टमा ७३ हजार ८१४ पर्यटक नेपाल आएका थिए। बर्सातको मौसम भएकै कारण अघिल्लो महिनाको तुलनामा भने पर्यटक आगमन सङ्ख्या केही खुम्चिएको छ।

यस वर्षको जुलाईमा ४४ हजार ४६२ पर्यटक नेपाल आएका थिए। कोभिडभन्दा अघि सन् २०१९ को जुलाईमा हवाई मार्ग हुँदै ५८ हजार ८११ पर्यटक नेपाल भित्रिएका थिए।

सन् २०२० को जुलाईमा २११ र सन् २०२१ को जुलाईमा दुई हजार ९९१ पर्यटक नेपाल आएका थिए। सेप्टेम्बर महिना पर्यटन आगमनको उपयुक्त सिजन भएकाले यस महिना पर्यटक आगमन सङ्ख्या अरू बढ्दै जाने पर्यटन बोर्डले जनाएको छ।

महामारीपछि तुलनात्मक रूपमा बेसिजनमा पनि पर्यटक बढ्नुमा भारतीय पर्यटकको आगमन बढिरहेको बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताउनुभयो।

“पछिल्लो समय भारतका विभिन्न सहरमा नेपालले पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरेको थियो।

अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य बढेपछि छिमेकी मुलुकको सौन्दर्यमा रमाउन, विभिन्न सभा सम्मेलनमा समूहमै भारतीय नागरिक नेपाल आउने क्रम बढेको छ”– उहाँले भन्नुभयो।

हवाई टिकटको मूल्य बढे पनि अगस्टको तुलनामा सेप्टेम्बरमा हिमाल आरोहण, ट्रेकिङलगायतका क्षेत्रमा हिमाली पर्यटनतर्फ आकर्षित युरोपेली मुलुकका पर्यटकसमेत बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ। जुलाईमा भारतबाट १६ हजार १४७ पर्यटक नेपाल आएका छन्।

कोरोनाका कारण लामो समय घरभित्रै सीमित बनेका चिनियाँ पर्यटक अहिले बेसिजनमा समेत भ्रमणमा निस्कन लागेकाले चीनबाटसमेत पर्यटन आगमनमा थप सुधार हुँदै जाने उहाँले बताउनुभयो।

नेपालको पर्यटन क्षेत्रका लागि विदेशी पाहुनाको मुख्यमध्येको स्रोत बजार मानिएको चीनबाट पनि पाहुना भित्रिने क्रम बढ्दै गएको छ। यस वर्षको जुलाईमा हवाई माध्यमबाट एक हजार ५९३ जना चिनियाँ पर्यटक भित्रिएका थिए। बेसिजनमा समेत चीनबाट एक हजार २८९ पर्यटक नेपाल भित्रिएका छन्।

कोरोनाका कारण र विभिन्न सहरमा हवाई उडान बन्द हुँदा चिनियाँ पर्यटक घुमघाममा निस्कन नपाएका चिनियाँ पर्यटक भित्रिन थालेसँगै चिनियाँको आगमन बढ्न थालेको हो।

बोर्डको तथ्याङ्क अनुसार जनवरीमा १६ हजार ९७५ विदेशी पाहुना भित्रिएका थिए। त्यस्तै फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार छ, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७ र जुलाईमा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका छन्।