back
stc
prabhu insurance
nabil

फुटपाथ व्यवसायी माग: दसैँसम्म व्यवसाय गर्न पाउँ

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् ।

काठमाडौँको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आउनुभएका नुवाकोटका बलराम भेटवालले दसैँको समयमा काम गर्न दिन आग्रह गर्नुभयो ।

“हामी महानगरपालिकालाई सहयोग गर्न तयार छौँ, हामीले किनेर ल्याएको कपडा दसैँ अगाडिसम्म बिक्री गर्न दिइयोस्”, उहाँ भन्नुहुन्छ ।

भक्तपुरका भरत बस्नेत विगत ३३ वर्षदेखि माछापोखरीमा लत्ताकपडा बिक्री गर्दै आउनु भएको छ । “हामी बिहान दुई घण्टा र बेलुका दुई घण्टा कपडा बेच्दै आएका छौँ, दसैँ मुखमा आएको छ, दसैँको मुखमा हाम्रो रोजिरोटी नखोसियोस्”, बस्नेत भन्नुहुन्छ ।

धादिङकी यशोधा सुवेदी पनि लामो समयदेखि सोही स्थानमा व्यवसाय गर्दै आउनुभएको छ । “प्रयोगमा नआएको जग्गामा बिहान बेलुका व्यापार गर्दै आए पनि नगरपालिकाले हटाउन खोजेर हामीलाई समस्या पारिदियो”, उहाँ भन्नुहुन्छ ।

भेटवाल, बस्नेत र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । अहिले काठमाडौँ महानगरपालिकाले माछापोखरी क्षेत्रमा फुटपाथ व्यवसाय हटाउँदा ६० व्यवसायी मारमा परेका छन् ।

बिहान र बेलुकाको समयमा व्यापार गर्दै आएका उनीहरुसँग हालै रु ४० लाख मूल्य बराबरको सामान छ । दसैँको समयमा सामान बिक्री गर्न नदिँदा उक्त मूल्य बराबरको सामान थन्किने डर व्यवसायीमा रहेको छ ।

माछापोखरी क्षेत्र मात्र नभएर काठमाडौँको मुख्य क्षेत्र न्यूरोड, कोटेश्वर, कलङ्की, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा रातका समयमा फुटपाथमा सामान राखेर बिक्री वितरण हुँदै आएको छ । उनीहरुले भने व्यापार व्यवसाय गरेबापत हाल कसैलाई पनि कर तथा भाडा तिर्दैनन् ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अनाधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताउनु हुन्छ ।

“महानगरपालिकाले लिएको नीति पालना गर्ने दायित्व नगर प्रहरीको हो, जनप्रतिनिधिको आदेशअनुसार नगर प्रहरीले अनधिकृतरुपमा बनाएका संरचना र फुटपाथ व्यापार हटाउन लागेको हो”, उहाँ भन्नुहुन्छ ।

उहाँले महानगरले लिएको नीतिलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना र नक्सा पास नगरी बनाएका भवन तथा फुटपाथ व्यवसायीमाथि निगरानी बढाएको छ ।

काठमाडौँ महानगरपालिकाले हालसम्म न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, वनस्थलीलगायत काठमाडौँभित्रका विभिन्न क्षेत्रमा नक्साविपरीत अनाधिकृतरुपमा बनाइएका संरचना हटाइसकेको छ ।