नयाँ महानिर्देशकको लागि पुन: दौडधुप
काठमाडौं । यही पुस २४ गते शनिवार महानिर्देशक राजकुमार क्षेत्रीको सेवा अवधि सकिंदैछ । ५८ वर्षे उमेर हदका कारण क्षेत्रीको कार्यकाल सकिने लागेको हो । तर, क्षेत्री दोश्रो कार्यकालको लागि पनि दौडधुप गरिरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन–२०५३ ले क्षेत्रीलाई पुनः महानिर्देशक बन्न रोक्दैन । त्यसैले क्षेत्रीको पुनः नियुक्तिको संभावना पनि उत्तिकै छ । चार महिना मात्र महानिर्देशक बनेका क्षेत्रीले आफ्नो कामको क्षमता राम्ररी प्रदर्शन गर्न नपाउँदै समय अवधि सकिएको भन्दै दोहोरिने मनसाय देखाएका छन् ।
तत्कालीन महानिर्देशक राजन पोखरेल गत भदौ महिनामा प्राधिकरणबाट अवकास भएपछि सिनियर कर्मचारीको नाताले क्षेत्रीलाई सरकारले गत असोजमा महानिर्देशकको जिम्मेवारी दिएको थियो ।
तर,प्राधिकरणको अध्यक्ष समेत रहेका मन्त्री आलेले समय नदिएका कारण प्राधिकरणको बजेटसमेत समयमा पारित हुन सकेन । यस्तो प्रतिकूल अवस्थामा प्राधिकरणको महानिर्देशक बनेका क्षेत्री पुनस् महानिर्देशक बन्ने दौडधुपमा छन् ।
हाल प्राधिकरणमा १२ औं तहका सिनियर उपमहानिर्देशकमा भोला गुरागाईं र प्रतापबाबु तिवारी मात्र रहेका छन् । तर, ११ औं तहका प्रदीपकुमार अधिकारीले पनि महानिर्देशकको रहर गरेको भएपनि उनी महानिर्देशक बन्न सक्ने कुनै सम्भावना छैन।
प्राधिकरणमा जेष्ठताका आधारमा संजीव गौतम, राजन पोखरेल र क्षेत्री महानिर्देशक बनेको नजिर कायम भइसकेको छ । यसकारण पनि अधिकारीको दौडधुप केवल प्रचारका लागि मात्र भएको हो ।
अधिकारी ११ औं तहका पनि कनिष्ठ कर्मचारी हुन् । गत पुस १४ गते बुधवार बसेको बोर्ड बैठकबाट पनि उनी १२ ओैं तहमा बढुवा भएनन।
महानिर्देशक को बन्ला ?
प्राधिकरणका हालका महानिर्देशक क्षेत्री पछि सिनियर कर्मचारीको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक भोला गुरागाईं हुन ।
उनी पछि अर्का सिनियर कर्मचारीमा नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान प्रमुख प्रतापबाबु तिवारी रहेका छन । गुरागाईंको सेवाअवधि आगामी यही फागुनमा सकिदैछ । त्यसकारण पनि क्षेत्री नदोहोरिएको खण्डमा तिवारी नै संभावित महानिर्देशकको बलिया दावेदार हुन ।
क्षेत्री महानिर्देशक बन्ने दौडबाट बाहिरिएको खण्डमा सिनियर उपमहानिर्देशकको भएकाले गुरागाईं महानिर्देशक बन्नसक्ने सम्भावना छ।
यद्यपी उनको कार्यकाल दुई महिना मात्र भएको र मन्त्रीले कसैसँग सेटिङ गर्न नसकेको अवस्थामा उनलाई नियुक्ति गरेर यो अवधिमा अरूसँग लाइन मिलाउन सक्छन। यसपछि भने तिवारी महानिर्देशकका बलिया उम्मेदवार हुन।
वि.सं.२०७८ पुस २० १६:३८




















