लगानी डुब्ने त्रासमा सिन्धुज्वालाका सेयरधनी
काठमाडौं । सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले संस्थापक सेयरधनीलाई पाँच वर्षभित्र आयोजना सम्पन्न हुने भन्दै सर्वसाधारणसँग करोडौं रुपैयाँ उठाएको भए पनि हालसम्म निर्माण कार्य सुरु गरेको छैन ।
६ वर्षअघि संस्थापक सेयर उठाएको सो कम्पनीले अपर न्यासेमखोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट रन अफ द रिभर प्रकृतिमा बनाउन १ हजार ८ सयभन्दा बढी व्यक्तिसँग करोडौं रुपैयाँ उठाएको थियो । त्यसबेला कम्पनीमा आबद्ध चर्चित व्यक्तिको अनुहार देखाएर सो कम्पनीले करोडौं रुपैयाँ उठाउन सफल भएको थियो । तर, सर्वसाधारणसँग उठाइएको सो रकम आयोजना निर्माणको साटो हिनामिना गरिएको स्रोतको दाबी छ । यसका साथै वर्षौं बित्दा पनि काम सुरु नभएपछि लगानी गरेकाहरू लगानी फस्ने डरले चिन्तित छन् ।
सो कम्पनीले बनाउने भनेको आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित छ । ४३ मेगावाट क्षमताको यो आयोजनाको वार्षिक लागत अनुमान ६ अर्ब ६ करोड रुपैयाँ छ ।
त्यस्तै, सोही खोलामा बन्ने भनेको अर्को आयोजना न्यासेमखोला ‘ए’ हो । यो सिन्धुज्वाला हाइड्रो प्रोजेक्टका रूपमा रहेको ‘क्यास्केड’ आयोजना हो । २१ मेगावाट क्षमताको यो आयोजनाको लागत ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यी दुई आयोजनाको लागत त्यसबेला १० अर्ब रुपैयाँ रहेकामा अहिले वृद्धि भई १३ अर्बभन्दा बढी पुग्ने कम्पनीको अनुमान छ ।
यो कम्पनीमा हालसम्म १ हजार ८ सय ५८ जना संस्थापक सेयरधनी पुगिसकेको बताइएको छ । जसमा ५७ करोड रुपैयाँको सेयर जारी भइसकेको छ । एक संस्थापक सेयरधनीका अनुसार, कम्पनीमा चर्चित अनुहार देखेर धेरैले लगानी गरेका छन् । तर, कम्पनीको बेथितिका कारण अधिकांशलाई लगानी डुब्ने डर छ ।
आयोजना बन्ने टुंगो नै नभएका कारण अधिकांश सेयरधनी लगानी डुब्नसक्ने भन्दै चिन्तित छन् । उठाइएको रकम टाठाबाठा मिलेर खाएको पनि ती संस्थापक सेयरधनीको भनाइ छ ।
उनका अनुसार संस्थापक सेयरमा अधिकांशको १ लाखदेखि ५ लाख रुपैयाँ लगानी भएकामा केही करोड रुपैयाँ संस्थापक लगानी छ । यो संस्थाको अध्यक्षमा अहिले अर्जुनबन्धु रेग्मी छन् । यसअघि चूर्णप्रसाद श्रेष्ठ र डा। गोविन्दराज पोखरेल अध्यक्ष रहेका बेला १ हजार ७ सय ५ संस्थापक सेयरधनी रहेकामा रेग्मी अध्यक्ष भएपछि सेयरधनीको संख्या १ हजार ८ सय ५८ पुगेको हो ।
पूर्वअध्यक्ष डा। पोखरेलले आयोजना निर्माण ढिलाइ हुनुमा सुरुमा गरेको प्रतिबद्धतानुसार लगानी नभित्रिनु मुख्य कारण भएको औंल्याए । वार्षिक साधारणसभा गरेर लगानी गर्नसक्ने टिम आएकाले आयोजना निर्माण अब छिट्टै हुने उनको भनाइ छ । पहिलाको नेतृत्वले कम्पनीको हिसाबकिताब मिलान गर्न तयार देखिएकाले अब समस्या नहुने उनको भनाइ छ ।
अध्यक्ष रेग्मीले पहिला विभिन्न कारणले ढिलाइ भए पनि अब आयोजना बन्ने दाबी गरे । अहिले पैसा उठाउनसक्ने व्यक्ति कम्पनीमा लगानीकर्ताका रूपमा भित्रिएकाले आयोजना बन्ने उनको भनाइ छ । पछिल्ला दिनमा कम्पनीमा शर्मा एन्ड कम्पनीका रमेश शर्मा, खुमा अर्याललगायतका लगानीकर्ता भित्रिएकाले आयोजना बन्ने उनको दाबी छ । उनले लगानी गर्नसक्ने क्षमताका साथी कम्पनीमा भित्रिएको र सेयरधनीको सहयोग रहे आयोजना बन्नेमा कुनै समस्या नरहेको बताए ।
सिन्धुज्वालामा अर्जुनबन्धु रेग्मीले ३ करोड ८५ लाख, ब्लुफिन इन्भेस्टमेन्ट प्रालिले १० करोड, खुमा अर्यालले ५ करोड, माउन्टेन क्यापिटल एन्ड भेन्चर्स प्रालिले ३ करोड १० लाख, प्रकाश रजौरेले २ करोड कम्पनीको खातामा जम्मा गरेको सिन्धु हाइड्रोले जनाएको छ । थप ७५ करोड रुपैयाँको लगानी प्रतिबद्धता व्यक्त भएको छ ।
सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडको आधिकारिक वेबसाइटकै कारण पनि लगानी गरेका सर्वसाधारण लगानी डुब्ने त्रासमा छन् । पहिलो कारण हो, कम्पनीको आयोजनाका लागि जग्गा खरिद र बैनाबापत ६ करोड २९ लाख रुपैयाँ भुक्तानी गरिएको भनिएको छ । तर, कम्पनीको नाममा ८५ लाख ५० हजार रुपैयाँको मात्रै जग्गा छ ।
दोस्रो कारण, माता उग्रचण्डी आयल स्टोर खरिद गरी कम्पनीबाट २ करोड ९१ लाख भुक्तानी गरिएको भनिएको छ । तर, हालसम्म सो आयल स्टोर कम्पनीको नाममा आएको छैन । सो आयल स्टोर कम्पनीकै पूर्वअध्यक्ष चूर्णप्रसाद श्रेष्ठको नाममा रहेको स्रोतको दाबी छ ।
तेस्रो कारण, २ साउन २०७४ मा गेलुनखोला हाइड्रोपावरलाई छोटो अवधिका लागि १८ प्रतिशत ब्याजदरमा दिएको १ करोड ७ लाख रुपैयाँ हालसम्म पनि फिर्ता भएको छैन । हालको सञ्चालक समितिले सो कम्पनीलाई ब्याजसहित सापटी रकम भुक्तानीका लागि ताकेता गरेको थियो । तर, कुनै जवाफ नआएको बताइएको छ ।
यस्तै, नेसनल डेभलपमेन्ट प्रालिलाई भुक्तानी गरिएको ९ करोड ८७ लाख रुपैयाँ फछ्र्यौट हुन नसकेको पेश्की रकम छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
वि.सं.२०७९ चैत १५ ०५:५५



















