दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । दार्चुला पावर लिमिटेडले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आगामी दशौँ वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अघि बढाउन लागेको हो ।
कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गते शुक्रबार दशौँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । सभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको साधारण शेयरको आईपीओ निष्कासन गर्ने प्रस्ताव राखिएको छ । आईपीओ जारी गर्न आवश्यक पर्ने पूँजी संरचनामा संशोधनसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
त्यस्तै कम्पनीले निर्माण तथा विकास गरिरहेका आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तोकिएको सीमाभन्दा बढी रहेको भन्दै उक्त कर्जा अनुमोदन गर्ने प्रस्ताव राखिएको छ । आयोजनाको विकास, निर्माण तथा सञ्चालनका लागि थप कर्जा आवश्यक परेमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
सभामा सञ्चालकको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक अनुमोदन गर्ने, सहायक कम्पनीमा गरिएको लगानी अनुमोदन गर्ने तथा आईपीओ निष्कासन र कम्पनी अद्यावधिक गर्ने क्रममा नियमनकारी निकायबाट आवश्यक संशोधन गर्नुपर्ने भएमा त्यससम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत छलफल हुनेछ।
वि.सं.२०८३ असोज २ ०८:१८



















