नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका लागि राय सुझाव माग
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।
उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेल monetarypolicy@nrb.org.np मा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ । राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो ।
सामान्यतया बजेट पेस भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । आर्थिक वर्ष २०७९/०८० को बजेट जेठ १५ गते सङ्घीय संसदमा पेस भएको थियो ।
मौद्रिक नीतिमा अल्पकालीन कर्जाको व्याजदर, मुद्रा आपूर्ति, मुद्रास्फीति नियन्त्रण गर्ने तथा मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउन लक्ष्य लिने नीति हो ।
कुनै पनि मुलुकको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैंकले निर्माण गर्छ । अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने विषय मौद्रिक नीतिले निर्धारण गर्छ ।
वि.सं.२०७९ असार २६ १७:१५




















