back
stc
prabhu insurance

एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र बिक्री नभएपछि म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समय असार २७ गतेसम्ममा सबै ऋणपत्र बिक्री नभएपछि समय थपेर साउन ४ गतेसम्म पुर्याइएको हो ।

यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।

बैंकले असार २२ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो । यसले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ । यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन ।

एसबीआईले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गरेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।