साउन १ गतेबाट हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु हुँदै
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्ज भएर साउन १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
दुवै इन्स्योरेन्स कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा समितिले असार ८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २३ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब हिमालयन एभरेष्ट इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।
बिमा समितिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई (१००ः०.८५) सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो ।
यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो । यस्तै, दुवै कम्पनीको असार २ गते बसेको विशेष साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । एक आपसमा मर्ज हुने भएपछि हाल दुवै कम्पनीको सेयर कारोबार रोक्का छ ।
यी दुई कम्पनीहरुबीच गएको वैशाख २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड र हिमालयन जनरल इन्स्योरेन्सको १ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।
यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो ।
समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।
वि.सं.२०७९ असार २८ ०८:४१




















