ज्योति विकास बैंक र अपि पावरले कम्पनी वार्षिकसाधारण सभा आज बस्दै, दुवैको लाभांश पारित हुँदै
काठमाडौं । ज्योति विकास बैंक र अपि पावरले कम्पनी वार्षिक साधारण सभा आज आइतबार फागुन १४ गते बस्दैछ । दुवै बैंक र कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दै छन् ।
ज्योति विकास बैंकको सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि बुक क्लोज गर्ने गरिसकेको छ । माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
अपि पावरले कम्पनीको सभा, बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले ७.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी जम्मा ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४० प्रतिशत का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ ।
फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ फागुन १४ ०८:१०




















