back
prabhu insurance
himalayanlife

नेपाली कांग्रेसमा गुट राजनीतिको बचस्व

१४ औं महाधिवेशन नजिकिँदै जाँदा सत्तारूढ नेपाली कांग्रेसभित्र गुट–उपगुट उम्मेदवार बनाउन र बन्न सक्रिय भएका छन्। महाधिवेशनबाट आफू कसरी स्थापित हुने र नेतृत्व हात पार्ने भनेर शीर्ष नेताहरू नै गुट–उपगुट बनाउन र गुटगत राजनीतिलाई फस्टाउन थालेका छन्।

१३औं महाधिवेशनसम्म पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन गुट मात्र सक्रिय थियो।

तर, १४औं महाधिवेशन आउँदै गर्दा विमलेन्द्र निधि र डा. शेखर कोइराला नेतृत्वको दुई गुट थपिएका छन्। योसँगै कांग्रेसमा ५ गुट सक्रिय रूपमा देखिएका छन् । यी गुट भित्र पनि संस्थापन पक्षमा उपसभापति विजय कुमार गच्छदार, महामन्त्री पुर्ण बहादुर खडका,सहमहामन्त्री डा. प्रकाश शरण महत,सुनिल बहादुर थापाका उप गुट छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल गुट भित्र पुर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, गिरिजा पुत्रि सुजता कोइराला,डा. रामशरण महत, अर्जुननरसिंह केसी उपगुट रहेका छन्।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सरकार सञ्चालनमा भन्दा महाधिवेशनमा बढी केन्द्रित भएको आरोप पनि लाग्ने गरेको छ ।

हाल उनी सातै प्रदेशका आफ्ना गुटका नेताहरूसँगको छलफललाई तीव्रता दिइ रहेका छन्। देउवा गुटमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाशशरण महत, चित्रलेखा यादव, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की लगायत सक्रिय छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफ्ना निकटका कार्यकर्तासँग दैनिक छलफलमा व्यस्त छन्। पौडेल समूहमा सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षीसमेत रहेका छन्।

यस गुटमा डा.शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, बल बहादुर केसी,कोषाध्यक्ष सितादेवी यादव लगायत सक्रिय छन्।

१३औं महाधिवेशनसम्म निकै सक्रिय पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गुट पनि १४ औं महाधिवेशन नजिकिँदै गर्दा पनि त्यति सक्रिय भएको छैन्। उनको गुटमा गगन थापा, उमाकान्त चौधरी,प्रदीप पौडेल, शिव हुमागाईं, भीमसेन प्रधान, धना खतिवडा लगायत सक्रिय छन्।

त्यस्तै, विद्यार्थी राजनीतिदेखि नै देउवासँग निकट रहेका उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो छुट्टै गुट निर्माण गरी १४ ओैं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने घोषणा गरिसकेका छन्।

उनले नयाँ वानेश्वर थापा गाउँमा सम्पर्क कार्यालय खोलेर प्रचार प्रसारसमेत सुरु गरिसकेका छन्। यद्यपि, निधि भने विगत देखि नै छुट्टै गुट बनाउन नरूचाउने व्याक्ति भएपनि अहिले भने गुट बनाएका छन्।

उनले आफ्नो उम्मेदवारी गुटगत राजनीतिभन्दा माथि रहेको र यसलाई गुट भन्न मिल्दैन भन्दै उनले आफ्नो उम्मेदवारी आओस् भन्ने सबै गुटका साथीहरूको आग्रह गरेकाले महाधिवेशन प्रतिनिधि चयनपछि नेताहरू आफ्नो पक्षमा खुल्ने निधिले बताएका छन्।

महाधिवेशन नजिकिँदै जाँदा कोइराला परिवारको अर्को गुट पनि सक्रिय भएको छ। जसको नेतृत्व डा। शेखर कोइरालाले गरिरहेका छन्। यस गुटमा चन्द्र भण्डारी, बद्री पाण्डे, गुरु घिमिरे, सरिता प्रसाईं लगायत सक्रिय छन्।

कांग्रेसमा गुटको राजनीति अभिन्न अंग जस्तै छ । अन्तर्राष्ट्रिय रूपमै हेर्दा पनि गुटको राजनीति छरपस्ट देखिदै आएको छ। यसलाई सामान्य मानिन्छ। कांग्रेस पार्टी पनि त्यसबाट मुक्त छैन। कांग्रेसमा ५ वटा गुट सक्रिय रहे पनि महाधिवेशनको समीकरणमा भने कतिपय गुट भत्किने र एक–अर्कामा विलय हुने अवस्था छ। गुटसँगै कांग्रेसमा अन्तर्घातको शृङ्खला पनि पुरानै हो।

गुटका कारण सक्षम मान्छे पछि पर्ने सम्भावना रहन्छ। उता देउवा गुटमा निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिको आकांक्षा देखाएपछि देउवाको विकल्पको खोजी भएको देखिएको छैन।

पौडेल समूहमा सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षी छन्। त्यसैले अहिले कांग्रेसमा देउवा र पौडेलको विकल्पको खोजी भएको चर्चा हुन थालेको छ।

त्यस्तै, कांग्रेसमा हाल देउवा, निधि, पौडेल, सिंह, डा.शशांक, डा.शेखर कोइराला, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला र कल्याण गुरुङ सभापतिका आकांक्षी देखिएका छन्।

महाधिवेशनमा पहिलो चरणको चुनावमा आधा दर्जन उम्मेदवार हुन सक्ने कांग्रेस नेताहरूकै विश्वास रहेको छ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ। त्यसैले पहिलो चरणमा कसैले ५० प्रतिशत मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुन्छ।

पार्टीभित्रको गुटबन्दी प्रजातान्त्रिक अभ्यासमा नौलो होइन। तेस्रो धार मानिएका कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्य गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल र शिव हुमागाईंको बलियो साथ रहँदै आएको थियो। चौधरी र हुमागाईं भने अहिले सिटौला क्याम्प छाडेर देउवा गुटमा प्रवेश गरेका छन्।