back
stc
prabhu insurance

घरेलु तथा साना उद्योग महासंघको विशेष साधारण सभा सम्पन्न

चितवन । नेपाल घरेलु तथा साना उद्योग महासंघको विशेष साधारणसभा चितवनको सौराहामा सम्पन्न भएको छ । कोरोना संक्रमणको जोखिम र पछिल्ला दिनमा अविरल वर्षाले गर्दा विभिन्न ठाउँमा अवरुद्ध भएको बाटोका कारण देशभरबाट ५१ जिल्लाका प्रतिनिधिहरुको विशेष साधारणसभा सहभागिता रहेको थियो ।

कोरोना संक्रमणका कारण पछिल्लो समय महासंघको रोकिएको अधिवेशन तथा विविध विषयमा साधारणसभाले मार्ग प्रशस्त गरेको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताएका छन् ।

महासंघका अध्यक्ष गिरीले हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको आर्थिक विकास र समृद्धिको आधार भनेको उद्यमशीलता विकासको माध्यमबाट घरघरमा सिर्जना गर्ने रोजगारी मार्फतको औद्योगिकरण भएको बताएका छन् ।

अब उद्यमशीलता क्षेत्रको लगानीमा जोड दिई उद्योग प्रवर्द्धन गराउन कृषि, गैह्र काष्ठजन्य बन पैदावार, जडिबुटी, अल्लो, गाँजा, केतुकी, जुट जस्ता प्राकृतिक रेशा, खनिजजन्य बहुमूल्य पत्थरहरु, पर्यटन, सौर्य, बायु तथा साना जलविद्युत जस्ता नवीकरणीय ऊर्जा र सूचना प्रविधि आदि क्षेत्रमा एकसाथ काम बढाउन बान्छनीय रहेको अध्यक्ष गिरीको भनाई रहेको थियो ।

सोही कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका मेयर नारायण वनले साना उद्योगको स्थापना र विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिदै आगामी दिनमा महासंघसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

नगरपालिकाभित्र लघु, घरेलु तथा साना उद्योगका लागि सात विघा जग्गा छुट्याएको उनको बताएका थिए ।

विशेष साधारणसभामा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गरेका थिए । विगतमा भएका केन्द्रिय सचिवालय समिति बैठकका निर्णयहरूको जानकारी र कार्यव्यवस्थापन समिति बैठकका निर्णयहरुको साधारणसभाले अनुमोदन गरेको छ ।

महाधिवेशनका लागि समान प्रकृतिका संघसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासंघले नेपाल नवीकरणीय उर्जा परिसंघलगायतसँग एकिकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाइसकेको थियो ।

साधारणसभाले महासंघको विद्यमान विधानका केही दफाहरुमा संशोधन गरेको छ। महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरिहर थापाले केही संस्था महासंघमा मर्ज भएको र सात वटै प्रदेशको अधिवेशनलाई सहजीकरणका लागि विधान संशोधनको गरिएको बताएका छन् ।

महासंघको आगामी महाधिवेशनका लागि जिल्ला र पालिकास्तरमा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिंदै उनले सातवटा प्रदेश र केन्द्रीय अधिवेशन गर्न बाँकी रहेको बताएका छन् ।

साधारणसभामा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष सूर्य कँडेललगायतले पनि सम्बोधन गरेका थिए ।