back
stc
prabhu insurance

राष्ट्रिय जनगणना कार्तिक २५ गतेबाट हुने

काठमाडौं । राष्ट्रिय जनगणना आगामी २०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिन हुने भएको छ । भदौं २३ गते बुधबार काठमाडौंमा केन्द्रीय तथ्यांक विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगन गरिएको राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने जानकारी गराएको छ।

अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रुपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना पुनः सञ्चालन गर्ने निर्णय गरेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताएका छन् ।

महानिर्देशक श्रेष्ठका अनुसार आगामी जनगणना १२ ओैं शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, ८ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् ।

जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेर सम्पूर्ण घर, सम्पूर्ण परिवार र सम्पूर्ण व्यक्तिको गणना गरिने महानिर्देशक श्रेष्ठले जानकारी गराएका छन् ।

विगत तीन महिना यता अवस्था सहज छ, लकडाउनको अवस्था पनि छैन, कोरोना संक्रमणको दर पनि न्यून भइरहेको छ, अब जनगणना गर्न सक्ने अवस्था भएकोले तथ्यांक विभागले जनगणना गर्न लागेका छ ।

तर यो काम अत्यन्त जटिल काम पनि छ, एउटा निश्चित विधि, अवधारणा, परिभाषालाई अंगीकार गरेर निश्चित समयमा मुलुकका सम्पूर्ण घर, परिवार र व्यक्तिहरुको गणना गर्नुपर्छ र हरेक व्यक्तिको घरदैलोमा पुग्नुपर्छ, त्यस कारण यो चुनौतीपूर्ण छ, हालसम्म ७ वटै प्रदेशमा ७ वटा प्रदेश जनगणना कार्यालय, ७७ जिल्लामा ८० वटा जिल्ला जनगणना कार्यालय रहेको र ७५३ स्थानीय तहका लागि ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गर्न लागिएको महानिर्देशक श्रेष्ठले बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जतिसक्दो छिटो गणकको छनोट गर्नुपर्ने बताउदै गणकको छनोट गरेर उनीहरुलाई दुई डोज नै कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सकिने भन्दै उनले गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने पनि बताउदै सचिव भण्डारीले पूर्व निर्धारित समयमा जनगणना हुन नसक्दा खर्च पनि बढीरहेको बताए ।

सचिव भण्डारीले भने, ‘सबैभन्दा छिटो गणकको छनोट गर्नसकियो भने गणकलाई दुवै डोज कोरोना विरुद्धको भ्याक्सिन लगाएर पठाउन सकिन्थ्यो, त्यो हाम्रो प्लान छ, गणकले गणनामा जाँदा मास्क र स्यानिटाइजर लानु पर्नेछ, यो पूर्व निर्धारित समयमा कोरोना भाइरसको संक्रमण दर बढ्यो, लकडाउनको अवस्था भयो, त्यसैले जेठ २५ देखि असार ८ गतेसम्म हुन सकेन, हामीले त्यो बेला नै जनगणना गर्ने भनेर डकुमेण्टहरु ८० वटै जिल्ला जनगणना कार्यालयमा पुर्याइसकेका थियौँ, फेरि ल्याउँदा हराउने समस्या र फेरि पछि त्यहीँ पुर्याउनु पर्ने समस्याले गर्दा सरकारसँग यो बीचको समयमा कार्यालय नहटाइ त्यही रहने व्यवस्था मिलाएर बस्दा खर्च बढी हुन गएको छ ।’

केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भाद्र २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको छ ।

पूर्व निर्धारित कार्यक्रमानुसार जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सम्पन्न गर्ने सरकारको योजना थियो । बिं.सं १९६८ मा श्री ३ चन्द्र समशेर जबराको पालाबाट शुरु गरिएको राष्ट्रिय जनगणना प्रत्येक १०/१० वर्षमा गरिन्छ । यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना समेत हो ।