वन्दे फल्चा शिलान्यास: २ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १२ मा वन्दे फल्चा (पाटी) शिलान्यास भएको छ । आज महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष विकास डंगोलले फल्चा निर्माण हुने ठाउँको भूमिपुजन गर्नुभएको थियो । भूमिपुजन पछि प्रमुख शाक्यले शिलान्यास गर्नुभएको थियो ।
भ्याट सहित १८ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने फल्चा आउँदो २ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । फल्चा २७ फिट ४ इञ्च लम्बाई, ६ फिट ४ इन्च चौडाई र १४ फिट उचाइको हुनेछ ।
शिलान्यासपछि सम्पदा पुननिर्माणको कार्यक्रममा महानगर कहाँ पुगेको छ? प्रश्नको उत्तरमा प्रतिक्रिया दिँदै प्रमुख शाक्यले, महानगरमा माग भएर आएका विवाद नभएका सबै सम्पदा निर्माण र पुननिर्माणको क्रममा रहेको बताउनुभयो ।
भूकम्पले जीर्ण भएका र समय समयमा मर्मत गर्नुपर्ने संरचनालाई बचाउन गुठीयार, समुदाय र सरोकारवालासँग समन्वय गरेर लगानी गरिरहेका छौँ ।
पहिले समुदायले बचाएका सम्पदालाई राज्यकोतर्फबाट सहभागिता जनाएका छौँ । हामीले भनिरहेका छौँ । सम्पदाको बचावटका लागि केही गर्नुपर्ने भए निर्धक्क योजना माग लिएर आउनोस् । हामी पुननिर्माण तथा मर्मत गरेर संरक्षण तथा उपभोगका लागि समुदायलाई नै जिम्मा लगाउँछौँ । प्रमुख शाक्यको भनाइ थियो ।
त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, काठमाडौँको पहिचान नै सम्पदा क्षेत्र भएकोले यसको लगानीमा नडराउने बताउनुभयो । सांस्कृतिक संरचना सामाजिक सद्भावका केन्द्र पनि हुन् । यसको महत्व फल्चा हेर्दा सानो योजना जस्तो लाग्छ । तर सांस्कृतिक कोणबाट यसको ठूलो महत्व छ । वडाध्यक्ष विकास डंगोलले, फल्चा पुननिर्माण भइसकेपछि पाका मानिसहरुको वन्देमा चहलपहल बढ्ने अपेक्षा गर्नुभयो ।
वि.सं.२०७८ भदौ २४ ११:३०