back
hangrilabank
himalayanlife
stc

डीडीसीका महाप्रबन्धक र उपमहाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक

काठमाडौं । भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । लैनचौरस्थित डीडीसी कार्यालयमा आन्दोलन गर्दै त्यहाँका कर्मचारी संघले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

कर्मचारीहरुले डीडीसीको प्रवेशद्वार मै धर्ना दिएर गत मंगलबारदेखि आन्दोलन थालेका छन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरे पनि हालसम्म व्यवस्थापनले कारवाही नगरेको आन्दोलित कर्मचारीहरुको भनाइ छ ।

संघका महासचिव आयुव अली खानका अनुसार संस्थानको आन्तरिक लेखापरीक्षण र महालेखाको प्रतिवेदनले औंल्याएको भ्रष्टाचारमा संलग्नलाई व्यवस्थापनले जोगाउन खोजेपछि आन्दोलन गर्नु परेको बताउदै संस्थानको हित र कर्मचारीको भविष्यप्रति नेतृत्व उदासिन भएको पनि उनको दावी रहेको छ ।

हामीसँग धेरै पटक नेतृत्वले उधारो सम्झौता गरेर आफ्नो कमजोरी ढाकछोप गर्न खोज्यो, अब निर्णायक आन्दोलन सुरु भएको छ,’ महासचिव खानले बताए। संस्थानको अनियमितता लुकाउने र भ्रष्टाचारमा मुछिएकालाई कारबाही नगरेसम्म आन्दोलन नरोकिने पनि उनले प्रष्ट्याएका छन्।