back
stc
prabhu insurance
nabil

नेपाल–चीन व्यापारमा उत्तरी नाका असहज

काठमाडौं । कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा संचालित आयात निर्यातलाई सहज बनाउन व्यापारीहरूले सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुधार हुन सकेको छैन ।

नेपालको रसुवागढी नाकाबाट चीनले अहिले कोटा प्रणाली अनुसार दैनिक नौ कन्टेनर मात्र सामग्री पठाइरहेको छ । यो सामग्री निकै कम भएको व्यापारीहरूले गुनासो छ ।

चीनबाट नेपालतर्फ सहज रुपमा आयात नहुँदा अर्बौको सामान चीनमै रोकिएका छन् । दैनिक आयात हुने कोटा नबढेपछि दसैंका लागि मगाएको सामान दसैँ अगाडी आउन सकेनन। व्यापारिहरू तिहार अगाडि आइपुगे केही राहत हुन्थ्यो कि भन्ने आशामा छन।

चीनबाट नेपाल आयात गर्ने १० भन्दा बढी ट्रान्सपोर्ट कम्पनीहरू छन् । जसमध्ये मुसा ट्रान्सपोर्टको मात्रै ६ हजारभन्दा बढी सिबियम सामान चीनको केरुङमा रोकिएको छ। व्यापारीहरूले मुसा ट्रान्सपोर्ट इन्टरनेशनल लजेस्टी केरुङका अफिस म्यानेजर जामिलसँग फोनमा कुराकानी गर्दा उनले व्यापारीले छिटो सामान पठाउन दबाब दिइरहेको तर, पर्याप्त सामान पठाउन नसकेको स्वीकार्छन।

यस्तै अवस्था रहे अब नयाँ सामानको डेलिभरी पनि रोक्ने उनको भनाइ छ। उनले बिल्टीको डेट हेरी नयाँ सामान रोकी पुरानो सामान पठाउने बताएपनि सामान आउन सकेको छैन।

१५ अक्टोबरसम्मको बिल्टीलाई प्राथमिकता दिई सामान पठाउने तयारी गरेको छ। चिनियाँ एउटा गाडीमा ६० देखि ६५ सिबियम सामान नेपाल आउँछ, ट्रासपोर्टहरूको सामान धेरै छ, कसको सामान टाइममा आइपुग्ला भन्ने ठेगान छैन ।

चीनको केरुङबाट रसुवागढी नाकासम्म सामान ल्याउने ४६ वटा चिनियाँ कन्टेनर छन् । जसमध्ये दैनिक नौवटा चिनियाँ कन्टेनरले मात्र सामान ल्याइरहेका छन् । सिजनअनुसारको सामान ल्याए पनि तोकिएको समयमा सामान नेपाल आइनपुगेको व्यवसायीहरूले बताउछन।

दसैंको सामान तिहारपछि र जाडोको सामान गर्मी समयमा आउँने अवस्था छ। चीनको उत्तरी नाका रसुवागढी,तातोपानीबाट सिजनअनुसारको सामान ल्याउन समस्या भएको छ ।

चीनयाँ सामान नेपाल आइपुग्न तीन महिना

कोरोना संक्रमणअघि रसुवागढी नाकाबाट दैनिक सय वटा भन्दा बढी नेपाली कन्टेनरमा सामान नेपाल आयात हुने गरेको थियो । व्यवसायीहरूका अनुसार चीनको गोन्जाओबाट ल्याएको सामान नेपालमा २० देखि २३ दिनभित्र आइपुग्थ्यो । तर अहिले नेपाल सामान आइपुग्न कम्तीमा तीन महिनाभन्दा बढी समय लाग्ने गरेको छ ।

सरकारले भने अहिले नाकामा भइरहेको समस्या समाधानको पहल भइरहेको जनाएपनि सरकारी तवरबाट व्यापारीका सम्या समाधान गर्ने ल्हासा बाणिज्य दुतावास, बेइजिङ दुतावास र परराष्ट्र मन्त्रालयबाट कुनै ठोस पहल हुन सकेको छैन ।

रसुवा भन्सार कार्यालय टिमुरे रसुवाका अनुसार नाकाबाट सहज रुपमा सामान आयात बढाउन पहल स्थानीय तहबाट प्रयास भइरहेको भएपनि माथिल्लो तहबाट कुनै प्रयास भएको छैन । चिनियाँ पक्षले राखेको कोटा प्रणाली हटाउने, हुक एण्ड ड्रप प्रणाली लागु गर्ने लगायतका बिषयमा कुनै पहल हुन सकेको छैन। कोरोनाको बहानामा चिनियाँ पक्षले नेपाली उधमी व्यवसायीहरूलाई आयात( निर्यातमा दुस्ख दिइरहेको छ।

केही दिनअघि ल्हासाका महावाणिज्यदुत नवराज ढकालले फलो–अपको रुपमा तिब्बत परराष्ट्र कार्यालयका निर्देशक छुकी ढोमा र तिब्बत वाणिज्य विभागका निर्देशक देबेईसँग रसुवागढी र तातोपानी नाकाबाट सहज रुपमा सामान आयात बढाउन छलफल गरेका भएपनि चिनियाँ पक्षले कुनै टेरपुच्छर लगाएको छैन।

छलफलपछि रसुवागढी नाकाहुँदै दैनिक ८ देखि १० कन्टेनर सामान नेपाल पठाउन चीन तयार भएको देखिन्छ । यसका लागि पनि नेपालले हालको समयभन्दा एकदेखि दुई घण्टा अगावै काम सुरु गर्नु पर्ने भएको छ भने आवश्यक कामदारको व्यवस्था गरी कार्यदक्षता वृद्धि गर्नुपर्ने भएकाले थप लागत बृद्वि भएको छ ।

नेपाल आउने ट्रकहरूको संख्या बढाउन रसुवागढी नाकामा सप्ताहन्तमा पनि काम भइरहेको चिनियाँ पक्षले जनाएको भएपनि आयातको काम ढिला भैरहेको छ । पछिल्लो समय रसुवागढी नाकामा भएका गलत अभ्यासलाई निरुत्साहन गर्न वाणिज्य विभागको पहलकदमीमा नम्बरिङ सिस्टम लगायत विभिन्न सुधार थालिएको जनाइए पनि त्यो अप्रयाप्त छ ।

यसैगरि तातोपानी नाकाबाट पनि नेपाल भित्रने ट्रकको संख्या बृद्धि हुन सकिरहेको छैन। हाल दैनिक १० वटासम्म कन्टेनर आएका छन। यसमा दैनिक २० वटासम्म पुर्याउने चिनियाँ पक्षले जनाएको छ ।

यसका लागि नेपालतर्फ कामदारहरूको संख्या बढाउन, काम छिटो छरितो गर्न तथा सडक बिग्रने लगायतको समस्या तत्काल समाधान गर्न नेपालले आवश्यक तयारी गर्नुपर्ने चिनियाँ पक्षको सर्त रहेको छ । जुन शर्तले बढी सामान आयात गर्नमा कुनै प्रभाव पार्दैन। दैनिक सय कन्टेनर सामान आयात गरेपनि सजिलै काम गर्न सक्छ।

कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । चीनले १५ माघ ०७६ देखि २२ जेठ ०७७ सम्म नाका बन्द गरेको थियो । त्यसपश्चात चीनले रसुवागढी नाका एकतर्फी रुपमा संचालन गरेको थियो ।

चीनले आफ्नै गाडीमा नेपालतर्फको भु–भागमा सामान ल्याइदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड अनलोड गर्छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड अनलोड गर्न समेत स्वास्थ्यका मापदण्ड अपनाउँनु पर्छ । अहिले रसुवागढी नाकाबाट विशेषगरी रेडिमेड कपडा, इलेक्ट्रोनिक्स लगायतका सामग्री भित्रिने गरेको छ ।

दशैं–तिहार लक्षित गरि ल्याइएका सामान तिहार पछि पनि नआइ पुग्ने भएपछि व्यापारी डुव्ने अवस्थामा पुगेका छन। अब चीनको उत्तरी नाका रसुवागढीर तातोपानी भन्दा कलकत्ताको नाका व्यापारीहरूका लागि उपयुक्त हुने देखिएको छ।

यसैगरि चिनियाँ अघोषित नाकाबन्दीका कारण १५ सय मेट्रिक टन रासायनिक मल तातोपानी नाकामै अड्किएको छ। २८ सेप्टेम्बरमा तातोपानी नाकामा पुर्‍याइएको १५ सय मेट्रिक टन रासायनिक मल नाकाबाट ल्याउन नपाइएपछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको छ।

सीमित सवारीहरुमात्र नाकाबाट पास हुन दिने प्रावधानका कारण १५ सय मेट्रिक टन मल काठमाडौं आउन नसकेकोले सहजीकरण गरिदिन परराष्ट्रले चिनियाँ दूतावासलाई पत्र पठाएको छ।

चीनबाट ल्याइएको मल समयमा किसानहरु नपाउँदा समस्या भएकोसमेत पत्रमा उल्लेख छ। मन्त्रालयले पठाएको पत्रमा लेखिएको छ, ‘दूतावसाले उक्त मल नाकाबाट पास गराउनका लागि सहजीकरण गरिदिए प्रशंसनीय हुनेछ।’ भनी आग्रह गरिएको छ।

दूतावासले यसरी सहजीकरण गरिदिएको अवस्थामा नेपाललाई चीनले उच्च प्राथमिकता दिएको स्पष्ट हुनेसमेत पत्रमा उल्लेख गरिएको छ।

चिनियाँ नाकाबन्दीका कारण करिब ११ सय ट्रक तथा लरीहरु चिनियाँ नाकामा अलपत्र परेका छन्। तर, चीनले भने दैनिक १० वटा ट्रक तथा लरीका दरले तातोपानी नाकाबाट पास हुन अनुमति दिदै आएको छ।