सानिमा लाइफ इन्स्योरेन्सले आइपीओ ल्याउने प्रस्ताव, जेठ २३ गतेआइतबार तेस्रो वार्षिक साधारण सभा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले आगामी जेठ २३ गतेआइतबार तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कोरोना संक्रमणको कारण सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जानकारी दिएको छ । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ ।
यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
यता, कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ । हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।
वि.सं.२०७८ जेठ १८ १०:२४