सिभिल लघुवित्तको साधारणसभाबाट २० प्रतिशत लाभांश पारित
काठमाण्डौं। सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न दसौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश अनुमोदन गरेको जनाइएको छ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश सहित अन्य प्रस्तावहरु पारित गरेको जनाएको छ।
सभाका अध्यक्ष सचिनजंग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित सबैप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाइदिएकोमा धन्यवाद दिएका छन्।
साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथिका रुपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले पूर्व मेचीदेखि महाकालीसम्मका जिल्लाहरुमा कार्यक्रम विस्तार भएको, दोहोरो अंकमा सेयरधनीलाई लाभांश वितरण गर्न सकेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिएका थिए।
साथै संस्थाले गरेको उत्साहजनक प्रगतिको प्रशंसा गर्दै पोखरेलले आगामी दिनमा संस्थाले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने, कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि गराउने र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिई लगानीकर्तालाई यसै प्रकारको प्रतिफल दिन सकोस भनी संस्थाको उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गरेका थिए।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७४ शाखा कार्यालयमार्फत ५८ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु। ७५ करोड बचत संकलन गरी रु। ३ अर्ब २७ करोडभन्दा बढी लगानी गरेकोे जनाएको छ।
वि.सं.२०७८ कात्तिक २८ १७:५४



















