back
stc
prabhu insurance

आरम्भ चौतारी र देउराली लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । प्राप्ति प्रक्रिया पूरा गरेका आरम्भ चौतारी र देउराली लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार हिजो कात्तिक ३० गतेदेखि सुरु भएको छ।

संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा एक कार्यक्रमको आयोजना गरी एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सुरु गरिएको थियो।

आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौता गत २०७७ चैत ९ गते भएको थियो। त्यसपछि दुवै संस्थाको चैत ३१ गतेसम्म वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको थियो ।  नेपाल राष्ट्र बैंकले पनि आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई गत कात्तिक १ गते अन्तिम स्वीकृति दिएको थियो।

एकीकृतपश्चात संस्थाको चुक्ता पुँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँ पुगेको छ। संस्थाको ५२ जिल्लामा १४९ शाखा सञ्जालमार्फत सेवा दिने भएको छ।

एकीकृत कारोबार शुभारम्भ गर्दै प्रमुख अथिति नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नेपालमा लघुवित्तहरुको संख्या ६८ वटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताएका थिए। उनले केही नीतिगत कुराहरुमा सुधार गर्नुपर्ने धारणा पनि राखेका थिए।

कार्यक्रममा बनेपा नगरपालिका वडा न. १० का वडा अध्यक्ष चन्दबहादुर खडकाले लघुवित्तले सदस्यहरुलाई कर्जा लगानी गर्दा सही ठाउँमा भए नभएको हेर्नुपर्ने बताउदै उनले प्रत्येक ठाउँमा सेवा पुग्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा देउराली लघुवित्तका अध्यक्ष विनोद ज्ञवालीले संस्थालाई सबल र सक्षम बनाउँदै अगाडि बढ्ने बताएका थिए।