सबै नागरिकका यथाशीघ्र खोपको व्यवस्था गर्न राष्ट्रपतिको निर्देशन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ महामारीको पछिल्लो अवस्था¸यसको रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेका रणनीति तथा मन्त्रालयसँग सम्बद्ध विविध विषयहरूका बारेमा जानकारी लिएकी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सो जानकारी गराएको हो ।
मन्त्रालयको तर्फबाट विस्तृत जानकारी प्राप्त भएपछि राष्ट्रपतिले स्वास्थ्यसम्बन्धी हकलाई नेपालको संविधानले नागरिकको मौलिक अधिकारका रूपमा उल्लेख गरेको बताउदै नागरिकको जीवन रक्षा नै यस बखत सबैको प्राथमिकता भएकोमा विशेष जोड दिइन् ।
राष्ट्रपति भण्डारीले स्वास्थ्य बहुआयामिक विषय भएकाले मन्त्रालयले शिक्षा¸खानेपानी तथा सरसफाई¸वन तथा वातावरण र कृषि लगायत एवं अन्य सम्बद्ध निकायसँग निरन्तर समन्वय गरी काम गर्नुपर्ने आवश्यकता औल्याएकी छन् ।
यसैगरी कोभिड –१९ महामारीसँग जुझ्न खोप एक मात्र विकल्प भएकाले सबै नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्था गर्ने काममा प्राथमिकताका साथ अग्रसर हुन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।
उक्त अवसरमा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न स्वास्थ्य विमाको प्रावधानलाई सुदृढ गरिनु पर्ने बताउँदै यस विषयमा सरकारले गम्भीरताका साथ अध्ययन गरिरहेको बताएका छन ।
यसैगरी उनले महामारीका कारण हाल मानसिक रोगीहरूको संख्या समेत उल्लेखनीय रूपले बढेकाले मानसिक रोगीहरूका लागि समेत अस्पतालमा थप बेडको व्यवस्था गरिनु पर्ने आवश्यकता रहेको कुरा जानकारी गराएका छन् ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालले करिब ६० लाख कोरोना विरुद्धको खोप खरिदको प्रकृया सुरू भइसकेको कुरा सो अवसरमा जानकारी दिँदै काठमाडौँमा ३०० शैया र प्रदेशहरूमा ५० र ५० शैयाको सरुवा रोग अस्पताल निर्माण गरिनु पर्ने आवश्यकता रहेको बताएका छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले कोभिड –१९ महामारी विरुद्धको खोपको न्यायिक वितरण हुनुपर्ने कुरामा जोड दिँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको प्रभावकारिताको समेत अध्ययन गरिरहेको जानकारी गराएका छन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका भूमिका खेल्ने चिकित्सक,नर्स र स्वास्थ्यकर्मीको प्रशंसा गरेकी छन् ।
वि.सं.२०७८ असार ७ १३:०३