मेड इन चाँगु कार्यक्रम ल्याइदै

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको ब्राण्डिङ गर्नका लागि ‘मेड इन चाँगु’ कार्यक्रम बजेट मार्फत ल्याएको छ ।
नगरपालिकाको नवौँ परिषदबाट पारित बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै मेयर सोमप्रसाद मिश्रले उद्यमी निर्माण तथा उत्पादकहरुको बजारिकण तथा चाँगुनारायणको ब्रान्डिङ गर्नका लागि कार्यक्रम ल्याइएको बताएका छन् । कार्यक्रममा १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ सहितको बजेट पुस्तिका सार्वजनिक गरिएको छ।
चाँगुनारायण नगरपालिकाको बजेटमा पूँजीगत तर्फ १ अर्ब २४ करोड २ लाख ७४ हजार ७ सय ५४ रुपैयाँ अर्थात ६५ दशमलब शून्य पाँच प्रतिशत र चालू तर्फ ६४ करोड ६२ लाख ९ हजार ५ सय रुपैँया अर्थात ३४ दशमलव शुन्य नौ प्रतिशत विनियोजन गरिएको जनाइएको छ ।
चाँगुनारायणको बजेट आवश्यकताका आधारमा वैज्ञानिक ढंगले विनियोजन गरिएको नगरपालिकाको दावी रहेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता परासर सापकोटाले संक्षेपमा बजेट वारे आधिकारिक धारणा राखेका छन्। उपमेयर बिना बास्तोलाले स्वागत गरेको उक्त बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी लगायत चाँगुनारायण नगरपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसै वीच नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणका लागि चाँगुनारायण नगरपालिकाले रु. २५ लाख सहयोग गर्ने भएको छ । उक्त रकमको व्यवस्था शुक्रबार नगरपालिकाको नवौँ परिषदबाट पारित बजेट तथा नीति कार्यक्रममा उल्लेख गरेको छ ।
वि.सं.२०७८ साउन १७ १६:५७