चिनियाँ सुन तस्करलाई छाडने सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले हङकङबाट नेपालमा सुन तस्करी गर्ने गिरोहका एक जना चिनियाँ सदस्यलाई रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्चले असोज ४ गते सोमबार अध्यागमनको हिरासतमा रहेका चिनियाँ नागरिकलाई रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्चले ८ किलो सुन तस्करी गरेर हङकङबाट नेपाल भित्राउँदै गर्दा दुई वर्षअघि पक्राउ परेका चिनियाँ नागरिक इएच ५८०७५९८ राहदानी भएका छेन होनयाङलाई रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीशहरु सपना प्रधान मल्ल र वमकुमार श्रेष्ठको इजलासले सोमबार छोडने आदेश जारी गरेको छ । चीनको फुजियान प्रान्तका होनयाङलाई अध्यागमनले हिरासतमा राखेर देश निकालाको प्रक्रिया अघि बढाएका बेला उनी बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर भदौं ८ गते सर्वोच्च अदालत गएका थिए ।
अध्यागमन विभागका अनुसार सुन तस्कर होनयाङलाई चीनले हवाई टिकट उपलब्ध गराएपछि उनकै देश चीन पठाउने तयारी भइरहेको थियो ।
तर उनले चीनमा फर्कदा त्यहाँ कडा सजायको भागिदार हुनुपर्ने भएपछि सर्वोच्चको ढोका ढकढकाएको विभागको स्रोतको भनाई रहेको छ ।
हङकङमा रहेका सुन तस्करको ठुलो गिरोहका सदस्य होनयाङलाई नेपालमा रहेका सहयोगी मार्फत अदालतको बाटो देखाएर रिहा गराइएको छ ।
अध्यागमन विभागको नियन्त्रणमा रहेका होनयाङले सुन तस्करी मुद्दामा दुई वर्ष सजाय भुक्तान गरिसकेका छन् । त्यसैले उनलाई अध्यागमन विभागले नेपाल आउन निश्चित वर्षको प्रतिबन्ध लगाई उनीहरुकै देशमा फर्काउन खोजेको थियो ।
त्यसका लागि विभागले उनीहरुलाई चीन फर्कन हवाईजहाजको टिकट पेस गर्न निर्देशन दिएको थियो । तर, ती चिनियाँहरुले भने टिकट पेस गरेनन् । बरु विभागको नियन्त्रणमा निस्कन उनीहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।
विभाग समेतकै मिलमतोमा उनीहरुलाई रिहा गराउने योजना बुनिएको हो। यसमा गृहका अधिकारी र नेपालमा रहेका सुन तस्करी गिरोहको अप्रत्यक्ष संलग्नता रहेको छ । होनयाङसँगै पक्राउ परेका छेन क्विनहाङका बिषयमा भने विभागले केही खुलाएको छैन् ।
चिनियाँ नागरिकहरु इएच ५८०७५९८ राहदानी भएका छेन होनयाङ र इएच ६५९६६३७ राहदानी बोकेका छेन क्विनहाङ गत २०७६ मंसिर १३ गते विमानस्थलबाट सुन तस्करीको आरोपमा पक्राउ परेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित उनीहरुलाई प्रहरीले समातेको थियो । उनीहरु हङकङबाट आएका थिए ।
प्रहरीले उनीहरूले कम्मर र कट्टुमा लुकाएर ल्याएको सुन बरामद गरेको थियो । भन्सारको एक्सरे चेकिङको क्रममा उनीहरू पक्राउ परेका हुन् ।
विमानस्थलको स्क्रिन मेसिनमा उनीहरुमा शंकास्पद संकेत गरेको थियो । सबै लुगा खोलेर चेक गर्दा पनि केही भेटिएको थिएन । तर मेसिनले त्यही संकेत नै गरिरहयो । प्रहरीले पुनः दुई जनाको ‘अन्डरवयर’ चेक गर्दा अन्डरवेयरमा फल्सबटम बनाएर सुन ल्याएको भेटियो । उनीहरुले एक–एक केजीका आठवटा टुक्रा सुन अन्डरवेयरमा लुकाएका थिए ।
भन्सार कार्यालय र विमानस्थल प्रहरीले चार घण्टा लगाएर राति अनुसन्धान गरेको थियो । सुन बोकेर नेपाल आएका उनीहरु यसअघि पनि पटक–पटक नेपाल आएको देखिएको थियो ।
हङकङबाट नेपाल आएका उनीहरु यसअघि पनि सन् २०१७ /०१८ मा पनि नेपाल आएका थिए ।
वि.सं.२०७८ असोज ४ १९:३३