नयाँ दिल्लीमा नेपाल–भारत सीमा सुरक्षा बैठक सुरू
काठमाडौँ । मङ्गलबारबाट नेपाल–भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालका तर्फबाट बैठकमा नेतृत्व गरिरहनु भएको छ भने भारत सरकारका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमारराजेश चन्द्रले गरिरहनु भएको छ ।
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन महानिरीक्षक खनाल सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।
सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार बैठक (असोज १९–२१) तीन दिनसम्म सञ्चालन हुनेछ । बैठकमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा प्रमुख तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरीका एक–एक जना प्रतिनिधि सहभागी हुनुहुन्छ ।
भारत सरकार र नेपाल सरकारका तर्फबाट सात÷सात जनाको टोली नेपाल–भारत सीमा सुरक्षासम्बन्धी छलफलमा सहभागी छन् । केही वर्षअघि सो बैठक पोखरामा आयोजना गरिएको थियो ।
अन्तरदेशीय सीमा अपराध नियन्त्रण, दसगजामा संयुक्त सुरक्षा गस्ती, दुवै देशका नागरिकको आवागमनमा सहजीकरण र सूचना आदानप्रदान छलफलको मुख्य विषय भएको जनाइएको छ ।
प्रत्येक वर्ष आयोजना हुने सीमा सुरक्षा बैठक विविध कारणले नियमित हुन सकेको थिएन । पहिलो बैठक २०६९ मा भारतमा बसेको थियो ।
दोस्रो बैठक २०७२ मा नेपालमा, तेस्रो बैठक २०७३ सालमा भारतमा र चौथो बैठक नेपालमा बसेको थियो । कोभिड–१९ का कारण अवरुद्ध पाँचौँ बैठक नयाँ दिल्लीमा बसेको हो ।
वि.सं.२०७८ असोज २० ०८:१७




















