back
stc
prabhu insurance

एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाई भोलिदेखि निष्काशन हुने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले भोलिदेखि एनआईसी एशिया ग्रोथ फण्ड–२ निष्काशनमा ल्याउने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

उक्त फण्डको इकाईका लागि मंसिर ४ गतेदेखि आवेदन दिन सकिनेछ। उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा मंसिर १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिने जनाइएको छ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिनेछ।